मानवसेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ
काठमाडाैं | माघ ६, २०७९
पोखरा: पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो ।
मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए ।
‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केही रकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं ।’,उनले भने ।
जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उनले बताए । असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको उनले उल्लेख गरे ।
महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने आयोजकले जानकारी गराएको छ ।
मानवसेवा आश्रमको भवन निर्माणलाई सम्पन्न गर्न सरकारी निकायबाट समेत सहयोग मिलेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफुहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अभिव्यक्ति अधिकारीको छ । तर दिर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अगाडि बढीरहेको उनले बताए ।
मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकी सहयोगी मनहरुको रहेको जानकारी उनले गराएका छन् । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगी मनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ ।
अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । आर्थिक मन्दी भएता पनि महायज्ञलाई सफल पार्न सम्पूर्ण पोखरेलीहरुले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् ।
मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको जानकारी उनले गराए ।
पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले मानवसेवा सँग समर्पित भएको मानवसेवा आश्रम आफ्नो वडामा स्थापना भएको देख्दा खुशी लागेको बताए । महायज्ञ होस् या मानव सेवा आश्रम संचालनमा परेका समस्याहरुलाई समाधान गर्ने गरी आफु लाग्ने प्रतिबद्धता उनको छ ।
कथावाचक कमल नयन गौतमले सरकारको मात्रै भर पर्नुभन्दा आफु पनि सामाजिक सेवा सक्रिय भए पुण्य मिल्ने बताए । उनले सेवाको सन्देश प्रवाह गर्न मानव सेवा आश्रमले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।
मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।
हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् ।
मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म ५ करोड खर्च भइसकेको र अब ४ करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म पहिलो तल्लाको निर्माण पुराहुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

